फैलिदैं चिमखोले ‘थाली नाच’
म्याग्दी | मंसिर २, २०७९
तस्बिर: मिस मगर २०२२ मिलन थापा मगरको फेसबुक वालबाट
गलेश्वरः मौलिक कला र संस्कृतिले नेपालीको मनलाई कसरी आकर्षित गर्न सक्दोरहेछ भन्ने कुराको उदाहरण ‘थाली नाच’ बनेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोला थाली नाँचको उद्गम थलो हो ।
हिरामाया पुन श्रीसले पाँच दशकअघि सो नाचको सुरुआत गर्नुभएको थियो । गीतको लय र शब्दसँगै हातमा थाल राखेर गरिने थाली नृत्य स्वदेशमा मात्र सीमित नभई सात समुन्द्रपारी प्रवाससम्म पुगेको छ । हातमा थाल राखेर हत्केलाले घुमाइघुमाइ नचाएको र नाचेको दृष्य निकै रोचक हुन्छ ।
सावधानीपूर्वक गरिने नृत्य मौलिक, आकर्षक र संयमित हुने भएकाले लोकप्रिय बनेको हो । पछिल्लो समय थाली नृत्यसम्बन्धी गीत पनि ‘रेकर्ड’ भएकाले यसको लोकप्रियता अझै बढेको लोक कलाकार धनकुमारी थापाले बताउनुभयो । देशका विभिन्न ठाउँमा हुने मेला महोत्सव, सम्मेलनमा मात्र नभएर विदेशमा समेत थाली नाच देखाउने गरिएको कलाकार थापाको भनाइ रहेको छ ।
विसं २०२८ मा चिमखोलाकी हिरामाया पुनले पहिलो पटक पञ्चेबाजाको तालमा थाली नृत्य प्रस्तुत गर्नुभएको थियो । विसं २०४४ मा काठमाडौँमा भएको सार्क सम्मेलनमा प्रदर्शन गरेपछि थालीनाचको राष्ट्रिय र अन्तर्राष्ट्रियकरण भएको हो । हातमा थाल राखेर नचाउने भएकाले यस नृत्यलाई ‘थाली नाँच’ नामकरण गरिएको म्याग्दीका पुराना लोक गाएक प्रकाश श्रेष्ठले बताउनुभयो ।
हिरामाया पुन र धनकुमारी थापासहितको चार जनाको टोलीले विसं २०४२ मा वीरगञ्जमा भएको तेस्रो राष्ट्रिय लोक नृत्य प्रतियोगितामा सामूहिक थाली नृत्य प्रस्तुत गरेर प्रथम स्थान हासिल गरेका थिए । विसं २०३५ मा शान्ति पुन र धनकुमारी थापाले थाली नाचसम्बन्धी गीत रेकर्ड गराउनुभएको थियो । उक्त गीतको विसं २०७३ मा म्युजिक भिडियो छायाँकन गरिएको छ ।
चिमखोलामा थालीनाचसँगै जुरेचल्ला, शर्माजाले, कलश जुधाउने, टोपा नाच, भूमे खुसी बनाउन कालोमोसो लगाउने जस्ता मौलिक संस्कृति रहेका छन् । यी चिमखोलाका मौलिक संस्कृति अहिले म्याग्दीमा मात्रै होइन संसारभरिका नेपालीका लागि आकर्षक बन्दै गएका चिमखोलाका धु्रवकुमार पाइजाले बताउनुभयो ।
पाइजाका अनुसार अष्ट्रेलिया, अमेरिका, जापान, बेलायतलगायतका देशमा रहेका नेपालीहरूले विशेष अवसर वा फुर्सदको समयमा थाली नाचको आयोजना गर्ने गरेका छन् । मनोरञ्जनका लागि मात्रै नभएर लोकसंस्कृतिको संरक्षणका लागि पनि विदेशमा रहेका नेपालीले चासो देखाएका पाइजाले बताउनुभयो ।
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...
पोखरा । तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

